राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनलमा चार टिम

११ जुन २०२३ । भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ॐ सृजनशील समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा शनिबारदेखि आयेजित राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा आज न्यूटन एकेडेमी, ॐ श्रृजनशीलल समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घ सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।

आज सम्पन्न क्वार्टरफाइनलमा आयोजक ॐ श्रृजनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यसैगरी न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान बनाएको छ । गणतान्त्रिक खेलकुद महासङ्घ भक्तपुर जिल्ला खेलकुद विकास समिति टिमलाई २५–१० र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यस्तै लिखु–८ लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि सुरू भएको प्रतियोगितामा आठ जिल्लाका १० टिमको सहभागिता छ । सोमबारसम्म चल्ने प्रतियोगिताको उद्घाटनमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले नगरपालिकाले खेलको विकासका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कार, शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

सात राष्ट्रिय खेलाडीलाई सम्मान

प्रतियोगितामा नेपालमा हालै सम्पन्न कावा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कास्य पदक पाउन सफल नेपाल पुलिस क्लबका टिम प्रशिक्षकसहित महिला खेलाडी र नेपाली राष्ट्रिय टिमका खेलाडीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पुरुष राष्ट्रिय भलिबल टिमका इमरान मगर, विशाल विक, राष्ट्रिय महिला भलिबल टिमका उषा भण्डारी, कामना विष्ट, शान्तिकला तामाङ, पुनम चन्द र नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक रुपेशकुमार विष्टलाई सम्मान गरिएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*