‘मानवता र सह-अस्तित्वको दाबी हाे – मद्वारा मेरो निर्माण’

कृति समीक्षा 

✍️ प्रदीप योङ्हाङ लिम्बु

आफूले कविता नलेखेको/लेख्न नसकेको निक्कै भयो । सायद, म आफ्नै लेखन सँग प्रस्टेट छु कि? तर लेख्न नसके पनि आस्ते-आस्ते चालमा पुस्तकहरू चाहिँ पढिरहेको छु । भरखरै मैले कवि पराजित पोमुको कविता संग्रह “मद्वारा मेरो निर्माण” दोस्रो पटक पढि सकेँ ।

उनको कविता संग्रह र कविता माथि टिप्पणी गर्ने क्षमता त राख्दिनँ तर पाठकीय प्रतिक्रिया भने लेखौँ कि लाग्यो ।

उनको संग्रहबारे पाठकीय प्रतिक्रिया लेख्नु अघि उनको व्यक्तित्वबारे थोरै चर्चा गर्नैपर्छ कि भन्ने लाग्यो । कवि पराजित पोमु वैदेशिक रोजकारीका क्रममा लामो समय सम्म दक्षिण कोरियामा रहे । १२ घण्टाको नियमित ड्युटी हुँदा पनि उनले निस्वार्थ रुपमा नेपाली साहित्यमा पुर्याएको योगदान हप्तादिन, महिना दिनमा सम्मान थापिरहनेहरूको भन्दा फराकिलो र ज्यादा छ । यो कुरा न मैले दाबी गर्न खोजेको हो न त कवि स्वयंले । यसको दाबी त कविका कामहरूले गरिरहेका छन् । उनी दक्षिण कोरियामै रहँदा नेपालको नामी भनाउँदा कोनि केके साहित्य संस्थाहरूले र सम्बन्धित निकायले उनीसँग पर्याप्त संयोजन र सहकार्य गरेको भए अहिले हाम्रो साहित्य कोरियाली पाठकले पनि पढिरहेका हुनसक्थे । नेपाल-कोरिया साहित्य सम्मेलन/महोत्सव अथवा यस्तै केही भैरहेको हुन सक्थ्यो । खैर ! पराजित पोमु आफू कामदारको रुपमा कोरियामा रहँदा पनि नेपाली साहित्यमा पुर्याएको योग्दान साँच्चै प्रशंसनीय र सम्मानयोग्य छ ।

उनी कोरियामै बसेर पनि नेपाली भाषा, साहित्य आन्दोलनमा “इतर कविता” संग्रहको सम्पादन/ प्रकाशन गरे । त्यस्तै “ यो मेसिनको सहर हो” कोरियामा रहेका नेपाली कविका कविता कोरिया, नेपाली दुई भाषाको सम्पादन मात्र गरेका छैनन् “भुई मान्छेका आवाज” जस्ता चार दर्जन बढी मातृभाषी कविका संयुक्त मातृभाषाको कविता संग्रह पनि सम्पादन गरेर नेपाली भाषा साहित्यमा कविता विधा उपर अतुलनीय योगदान पुगेको छ भन्दा विकल्प मत नहोला ।

अब लागौं विषायन्तरतिर-“मद्वारा मेरो निर्माण” काव्य कृतिको नाम आफैँमा एउटा शालीन विद्रोही हो भन्ने लाग्यो । जीवन, आध्यात्मिक र दार्शनिक पाटो लेखनमा भेटिन सकिन्छ यो मेरो ठम्याई छ । हुन त अन्धा मान्छे र हात्तीको कथा जस्तै आफ्नै अनुभूती र दृष्टिकोण बन्ला मेरो भन्नु केही छैन । उतरआधुनिक समाजले आविष्कार गरेको क्वान्टम दुनियाँ हो यो । काश! कृति भित्र मानवता र सह- अस्तित्वको दर्विलो दावी आम पाठकको अदालतमा पेश गरेका छन् । यसको मक्सद हामी आफ्नो खोजी आफै गर्ने हो, आफैलाई खोज्ने हो भन्ने लाग्छ । यहीँ पङ्क्तिबाटै पनि यो कस्तो संग्रह होला भन्ने अनुमान लगाउन सकिन्छ ।

“कविता केका लागि ? कसका लागि ? कतै “लेख्नु” का लागि मात्र लेखिरहेका छैनौँ ? मद्वारा मेरो निर्माण कविता संग्रह तयार गरिरहँदा मनमा उठेका प्रश्न हुन् यी ‌। -पराजित पोमु

उनका यही अभिव्यक्तिबाट पनि कविता प्रति उनको चिन्तन अनुमान गर्न सकिन्छ ।

३८ वटा कविता संग्रहित यस संग्रहलाई कविले तीनवटा खण्डमा विभाजन गरेका छन् ।

◾️खण्ड क : अस्तित्वको तङ्सिङ्
यस खण्डमा उनले २१ वटा कविताहरू राखेका छन् । यस खण्डबारे कवि मनप्रसाद सुब्बाले टिप्पणी लेख्नुभएको छ ।
यस खण्डका कविताहरू वास्तवमै वजनदार लाग्यो । जुन कविताहरूले सबैको अस्तित्वको तङ्सिङ् गरेर सहअस्तित्वको यात्रामा अघि बढ्न वकालत गरेका छन् । तङ्सिङ् भनेको अनुष्ठान हो, कवितामा सिंगो जीवन र जगतको अनुष्ठान उठाएका छन् । सुरुकै कविता “मद्वारा मेरो निर्माण” कविता अत्यन्तै भव्य कविता हो भन्ने मेरो ठम्याइ छ । फटाहा मूर्तिकारले इश्वरको मूर्ति बनाउनु पर्यो भने आफ्नै अनुहारसँग मिल्दोजुल्दो बनाए जस्तै हुनेखाने वर्गले हुँदा खानेको वर्गको, विकसित मुलुकले विकासोन्मुख मुलुकको, सत्ताले भुईँ मान्छेको अस्तित्वलाई नीतिको, विकासको छिनोले आफ्नै अनुहार जस्तो बनाउन खोजिरहेको/बनाएको छ । यसैले आफूले आफैँलाई विनिर्माण गरेर आफूद्वारा आफ्नो निर्माण गर्नु पर्छ भन्ने चिन्तन उनको कवितामा भेटिन्छ ।

यस खण्डमा भएका अन्य कविताहरू पनि शक्तिशाली नै छन् । तर “विज्ञापन” र “अध्याय” कविता पढ्दा चाहिँ (यी दुई कविताको हकमा) “कतै ‘लेख्न’ का लागि मात्र त लेखिरहेका छैनौँ? ” भन्ने कविकै चिन्तन दिमागमा खेल्यो ।

यस खण्डका केही कवितांशहरू:
…..
………
समयको दशगजाबाट
अर्धकदमा उभिएको आफ्नै आकृतिलाई
सग्लो निर्माण गर्नु छ
मद्वारा मेरो निर्माण गर्नु छ ।
– मद्वारा मेरो निर्माण


…..
ओ प्रिय मान्छे !
भन अब तिमी-
मेरो उपस्थिति मन पर्छ या
मेरो अनुपस्थिति ?

म-उपस्थिति
मृत्यु-अनुपस्थिति ।
– उपस्थिति


……
एउटा साधारण धातु गुण-रुप परिवर्तन भएपछि
कति भयानक
कवि विस्फोटक बन्न सक्छ ?

मलाई साधारण नै रहन दिनुहोस् ।
– साधारण मान्छे

◾️खण्ड ख : अम्लारी मन
यस खण्डमा आठवटा कविताहरू छन् । यस खण्डबारे कवि विप्लव प्रतीकले टिप्पणी लेख्नुभएको छ । “अम्लारी” लिम्बू समुदायमा/मुन्धुममा प्रेमको बिम्ब वा प्रतिकको रुपमा मानिने फूल हो । यसैले यस भित्र प्रेमिल कविताहरू छन् भन्ने सोझै अनुमान लगाउन सकिन्छ ।

अक्सर प्रेमिल कविताहरूमा भावना हावी भएको पाइन्छ । तर पोमुका प्रेमिल कविताहरू शिल्प, भाव, भावना, शब्द संयोजनका हिसाबमा सन्तुलित रहेको अनुभव गर्दा गर्दै ‘मन’ र ‘हेलुक्वा’ कविता चाहिँ अलि कमजोर होकि ? भन्ने लाग्यो । अर्थात् उनको लेखन स्तर जतिको होइन कि ? भन्ने लाग्यो । पोमुले आफ्ना प्रेमिल कविता मार्फत “युप्पारुङ”, “नायुमा” जस्ता मौलिक र अर्ग्यानिक शब्दहरू पाठकलाई अत्यन्तै सुन्दर हिसाबमा परिचय गराएका छन् ‌।

यस खण्डका केही कवितांशहरू:

…..
लट्टा परेको तिम्रो कपालमा
अल्झे झैँ थाक्रा-काइँयो
गाँठो परेर इँजार मेरो ठुटे सुरुवालमा
सुर्केनी फुकिन नमाने जस्तो
हाम्रो प्रणय यात्रा यस्तै यस्तै मात्र भयो ।
– नायुमा

….
……
आफ्नै करङबाट विनिर्मित
आत्माको तलाउमा सँधै डुङ्गा चलाइराख्ने
यिन र याङ झैँ
एक आत्मा दुई बेग्लो शरीरको
तिम्रो जोडी आत्मा म नै हुँ ।
– अभिवाज्य पूर्णता

….
…..
मौन भएँ
गडगडाइरह्यो समुद्र
जून मुस्कुराइरहिन् आकाशमा
सम्झिएँ –
पूर्णिमाकी जून अर्थात मेरी उनी हुन्
गडगडाइरहेको समुद्र अर्थात म ।
– मध्यरतको जून र सागर

समीक्षक याेङहाङ ।

◾️खण्ड ग : समयको चो:त्लुङ
यसमा जम्मा नाैवटा कविताहरू समेटेका छन् । यस खण्डबारे कुमारी लामाले टिप्पणी लेख्नु भएको छ ‌।

“चो:त्लुङ” लिम्बू शब्द हो जसको अर्थ शीर (सिद्धी)भन्ने लाग्छ । “समयको चो:त्लुङ” अर्थात “समयको शीर/सिद्धी ।अन्य खण्डका कविताहरूमा कोरियामा रहँदाको अनुभुतिलाई केन्द्रबिन्दुमा राखेर लेखेका हुन् कि ? भन्ने लाग्यो । यस संग्रहका सबै कविताहरू अत्यन्तै सुन्दर र शक्तिशाली छन् ‌।

यस खण्डका केही कवितांशहरू:
..
….
न्यानो छ कल्पनामा मनको तन्ना
जिन्दगी
चि$$सो छ !
– हिँउपरेको रात

….
…..
तान्छोमा अर्थात
विश्वकै महँगो कार कम्पनीकी नृत्याङ्गना
हर दिन नृत्यरत छिन्
मेसिनको सङ्गीतमा
“फूलबारी हाङपाङ नेग्रादेन
मेसिनै भयो मेरो थाङ्बेन
मेसिनै भयो मेरो जीवन
छुइयामा हा हा छुई SS!”
– मेसिनको सङ्गीत

◾️अन्त्य :
कुनै कुराहरू शरीरमा बिझ्दैछ भन्ने थाहा हुँदैन तर बिझिसकेपछि बेस्सरी अनुभुत हुन्छ । ठिक यस्तै प्रकृतिका छन् यस संग्रहका कविताहरू । पहिलो पटक सरसर्ती पढ्दा मज्जा आएन । सायद कविताहरू सहजै बुझिनँ । दोस्रो पटक जब पढेँ तब महशुस भयो यस संग्रहको सुन्दरता । मौलिक शब्द ,कथन हरूलाई अत्यन्तै सन्तुलित र सुहाउँदो हिसाबमा कविले प्रयोग गरेका छन् । मद्वारा मेरो निर्माण, उपस्थिति, साधारण मान्छे, नायुमा, युप्पारुङ, मध्यरातको जून र सागर, हिँउ परेको रात, बन्दरगाह, मेसिनको सङ्गीत जस्ता कविताहरू औधी मनपर्यो ।

कवि पराजित पाेमु “इतर अभियान” एक साहित्यिक आन्दोलनका मुख्य अभियान्ता पनि हुन् । कवि पाेमुलाई यो सुन्दर संग्रहका लागि बधाई तथा शुभकामना । धेरै समयपछि एउटा चित्त बुझ्दो कविता संग्रह पढियो ।

प्रकाशक : फिनिक्स बुक्स
चित्रकला : विजया लिम्बु
कृति : मद्वारा मेरो निर्माण
कवि : पराजित पोमु
मूल्य: रु ३५०।-

1 Comment

Leave a Reply

Your email address will not be published.


*