भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

१७ जुन २०२३ । चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् ।

तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको हो । प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष बबिलाल तामाङले जानकारी दिनुभयो । समग्र आदिवासी जनजाति समुदायले आएको मातृभाषा हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा रहेका तामाङ समुदायको सहभागितामा भाषा संरक्षणको लागि कक्षा सञ्चालन गरेको उहाँको भनाइ छ ।

भाषा प्रशिक्षण कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भाषा संरक्षण अबका पुस्तालाई चुनौतीको विषय बन्दै गएको बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि मौलिक भाषा संरक्षणमा सकेको सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराले चितवनमा तामाङ भाषा कक्षा सञ्चालन गरेर अन्य जातिलाई समेत प्रेरणा दिलाउने काम गरेको बताउनुभयो । जिल्लामा रहेका १७ आदिवासी जनजातिमध्ये थारू र चेपाङबाहेक अन्य जाति बाहिरी जिल्लाबाट आएर बसेको हुँदा भाषामा समस्या भएको उहाँले बताउनुभयो । देशभरका विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने र एकापसमा आफ्नो भाषा पनि बोल्न नखोज्ने समस्याका कारण भएको भाषा पनि लोप हुँने अवस्थामा आइपुगेको उहाँको भनाइ छ । यस्ता प्रशिक्षण कार्यक्रमले आफ्नो मातृ भाषा बोल्ने बानीको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा सहभागी तीनजनालाई तामाङ जातिको टोपी लगाएर सम्मानसमेत गरिएको थियो । चितवनका पत्रकारद्वय सूर्यप्रकाश कँडेल र प्रेम कँडेल तथा त्रिचोक निवासी हिमाल कँडेलले एक हप्तासम्म नियमित सहभागी भएर तामाङ भाषा सिकेका थिए । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिम अवधिभर अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा ६० जनाको सहभागिता रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*