एनआरएनए यूकेको निशुल्क अनलाइन सदस्यता खुल्ला, डेडलाइन १५ जुलाईसम्म


लन्डन । १६ जुन २०२३ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निशुल्क अनलाइन सदस्यता खुल्ला भएको छ ।

हिजो १५ जुनदेखि आगामी १५ जुलाई २०२३ सम्म अनलाइन सदस्यता खुल्ला गरिएको एनआरएनए यूकेले जनाएको हो ।

एनआरएनए यूकेको आधिकारिक पोर्टलमार्फत सहजै संघको सदस्यता नवीकरण वा नयाँ बन्न सकिने र यसवापत कुनै शुल्क नलाग्ने बताइएको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने बेलायतको हाम्रो सदस्यहरुको डेटा बेलायेतको सर्वरमा राखिने छ, आइ सी ओमा दर्ता गरिएको छ, ‘डेटा प्रोटेक्सन एक्ट’ को अधिनमा रहेर सदस्यता खुलाइएको जनाउंदै सदस्यहरुका व्यक्तिगत विवरण गोप्य राखिने बताए । ढुक्कसँग सदस्य बन्न उनको अपिल छ ।

‘विगतमा सदस्यहरुबाट उठाइएको झन्डै ४० हजार पाउन्ड एक समूहले घोटाला गरेपछि संघको छवी उकास्न हामी अहिले निशुल्क गर्न वाध्य भएका हौं’- गाहामगरले भने- ‘म बेलायतका सबै संघसंस्था र व्यक्तिलाई सदस्य बनेर संघको शुद्धीकरण तथा हाम्रो वंशजको नागरिकता निरन्तरता अभियानमा साथ दिन अपिल गर्दछु ।’

उनले पञ्जीकृत सदस्यहरुबाट संकलित रकम घोटाला भएको समूहबाट फेरी १० पाउन्डका दरले पैसा उठाइएको पाइएको जनाउंदै त्यसको पछाडि नलाग्न र भ्रस्टहरुलाई तिरस्कार गर्न पनि अनुरोध गरे ।

अध्यक्ष प्रेम गाहामगरले बेलायतका समस्त नेपालीलाई समेट्न र पञ्जीकृत सदस्यहरुलाई आर्थिक भार नपार्न एनआरएनए यूकेको सदस्यता निशुल्क गर्ने निर्णय गरिएको दोहोरयाए।

बेलायतभरका सबैलाई निशुल्क सदस्य बनाउने आफूहरुको लक्ष्य रहेको गाहामगरले सुनाए । सदस्यता लिनेलाई धेरै लाभ हुने संघको भनाइ छ ।

उनले विदेशमा रहेका नेपालीको वंशजको नेपाली नागरिकता धरापमा परेकाले यसलाई कायम राख्नका लागि सबैलाई निशुल्क सदस्य बनेर सहयोग गरिदिन पनि आग्रह गरे ।

वंशजको नेपाली नागरिकता निरन्तरता अभियान कूटनीतिक र राजनीतिक तवरबाट समाधान गर्न सकिने भएकाले त्यसका लागि पञ्जीकृत सदस्यहरुबाट पैसा नउठाइने उनले प्रस्टयाए ।

बेलायतमा रहेका वंशजको नागरिकता चाहने सबै नेपालीलाई निशुल्क सदस्य बनाएर उनीहरुको भावना अनुरुप नेपाल सरकारसमक्ष वंशजको नेपाली नागरिकता कायम गराउन सशक्त पहल गर्ने अठोट पनि अध्यक्ष गाहामगरले लिएका छन् ।

आफ्नो रिसर्च टिमको अध्ययन प्रतिवेदन जुलाई पहिलो साता नेपालका प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई बुझाउने पनि जनाए ।

यसैबीच, एनआरएनए यूकेको निर्वाचन आउंदो २१ र २२ जुलाईमा गर्ने तयारी भएको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन भइसकेको छ ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले अनलाइन मतदान गरिने जनाए । उनका अनुसार, आउंदो २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ । आउंदो ९ जुलाई बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयन गर्ने समय तोकिएको छ ।

नयां कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।

घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सदस्य बन्न यो लिंकमा क्लिक गर्नुहोला:

https://members.nrnauk.org/

https://www.nrnauk.org/

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*