धनकुटा भरिका सम्पूर्ण बिद्यालयहरु तीन दिन बन्द

धनकुटा । विद्यालय कर्मचारीहरुका पेशागत हकहित र न्यायका निमित्त विद्यालय कर्मचारीको पेशागत छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आव्हानमा विद्यालय कर्मचारीहरु गत जेठ २० देखि विभिन्न घोषित कार्यक्रमहरुका साथ आन्दोलनरत छन् ।

विगत लामो समयदेखि नेपाल सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको साथै आर्थिक वर्ष २०८०-०८१ को बजेट कार्यक्रममा न्यायोचित सम्बोधन गरिने भनी विगतमा गरिएको सम्झौता अनुसार नेपाल सरकारको नीति तथा कार्यक्रम मार्फत बुँदा (१२७) मा सम्बोधन गरिएको भए पनि आवश्यक बजेट व्यवस्था नगरिएको कारण विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोही आन्दोलनमा एक्यबद्दता जनाउंदै धनकुटाका ४ शिक्षक संगठनहरुले पनि सॅयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला भरिका सम्पूर्ण बिद्यालयहरु असार २,३ र ४ गते ३ दिनका लागि पूर्व निर्धारित परिक्षाहरुलाई बाधा नपुग्ने गरि बन्द गरि सहयोग गरिदिन बिज्ञप्ति मार्फत अपिल गरेका छन् ।

साथै विद्यालय कर्मचारीहरुको जायज मागहरु तत्काल सम्बोधन गर्न, गराउन नेपाल सरकार, शिक्षक महासंघ लगायत सरोकारवाला सवैलाई जोडदार माग पनि गरेका छन् ।

हेर्नुहोस् सॅयुक्त प्रेस विज्ञप्ति

संयुक्त प्रेस विज्ञप्ती
मिति : २०८० /०३/०१

नेपालका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र स्तरीय बनाउने कार्यमा विद्यालयमा कार्यरत कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहँदै आएको व्यहोरा जग जाहेर नै छ । न्यून तलवमानमा काम गरिरहनु भएका विद्यालय कर्मचारीहरुका पेशागत हकहित र न्यायका निमित्त हाल विद्यालय कर्मचारीको पेशागत छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आव्हानमा विद्यालय कर्मचारीहरु २०८० / ०२ / २० देखि विभिन्न घोषित कार्यक्रमहरुका साथ आन्दोलनरत रहेको व्यहोरा सर्वविदित्तै छ । विगत लामो समयदेखि नेपाल सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रममा न्यायोचित सम्बोधन गरिने भनी विगतमा गरिएको सम्झौता अनुसार नेपाल सरकारको नीति तथा कार्यक्रम मार्फत बुँदा (१२७) मा सम्बोधन गरिएको भए पनि आवश्यक बजेट व्यवस्था नगरिएको कारण विद्यालय कर्मचारीहरु मर्कामा परी आन्दोलित हुनु स्वभाविकै हो । विद्यालय कर्मचारीको जारी आन्दोलनप्रति नेपाल शिक्षक महासंघ आवद्ध धनकुटेली शिक्षकहरुका पेशागत संस्थाहरु संघ संगठनहरुको तर्फवाट ऐक्यवद्धता जाहेर गर्दछौं ।

विद्यालय कर्मचारीहरुको जायज मागहरु तत्काल सम्बोधन गर्न, गराउन नेपाल सरकार, शिक्षक महासंघ लगायत सरोकारवाला सवैलाई जोडदार माग गर्दछौं । विद्यालय कर्मचारीहरुको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार मिति २०८० असार २ गतेदेखि माग सम्बोधन नहुन्जेलसम्म विद्यालय बन्द गर्न आव्हान भएको सन्दर्भमा हालसम्म पनि सरकारवाट विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरिएको हुँदा जारी आन्दोलनको समर्थन गर्दै मिति २०८० आषाढ २, ३ र ४ गते जम्मा ३ (तीन) दिन विद्यालयका पूर्व निर्धारित परीक्षाहरुलाई बाधा नपुग्ने गरी धनकुटा जिल्ला स्थित सम्पूर्ण विद्यालयहरु बन्द गरी सहयोग गरिदिनु हुन प्र. अ. ज्यूहरु, शिक्षक ज्यूहरु, वि.व्य.स. र शि.अ. संघका पदाधिकारी ज्यूहरु, अभिभावक तथा विद्याथीहरुमा हार्दिक अपील गर्दछौं । विद्यालय वन्दको कारणले हुने शैक्षिक क्षतिप्रति सरकार स्वयम् जिम्मेवार रहने र सरोकारवालामा पुगेको असरप्रति दुःख समेत व्यक्त गर्दछौं ।

१. किशोरकुमार राई (अध्यक्ष ने.रा.शि. संगठन, धनकुटा)
२. थिरेन्द्र वहादुर लिम्बू (अध्यक्ष, नेपाल शिक्षक संघ, धनकुटा)
३. टेकमणी पौडेल (अध्यक्ष, एकीकृत अनेशि संगठन, धनकुटा)
४. प्रेम बहादुर खड्का (अध्यक्ष प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, धनकुटा)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*