आठौं वातावरण साहित्य गाेष्ठी सम्पन्न

 

विश्व वातावरण दिवसको अवसर पारेर आयोजित यस आठौँ वातावरण साहित्य गोष्ठीमा नेपाललगायत भारतको आसाम र भुटानको थिम्पुबाट पनि अतिथिहरूले सहभागिता जनाएका थिए । डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा आयोजित यस गोष्ठीमा  डा. भट्टराईकै ‘पर्या साहित्यका बारेमा विषेश वक्तव्य’ रहेको थियो । यस वक्तव्यमा पर्या साहित्यका शैद्धान्तिक पक्षसहित हालसम्म नेपाली पर्या साहित्यमा गरिएका कार्यहरूका बारेमा विस्तृत जानकारी रहेको थियो । भट्टराईले आफ्नो विषेश वक्तव्यका क्रममा भने, अबको इको–कविताले भावुकतामा चढेर पृथ्वी सिँगार्दैन, अब त मानवको पृथ्वी ग्रहसितका अन्तर्सम्बन्ध देखाउँछ । पर्यावरणसित हाम्रो सम्बन्ध जटिल हुन्छ । त्यसकारणले अबका इको पोएटहरूका सोचाइ नयाँ हुँदै गएका छन् । अब यो स्वेच्छा वा मुडले मात्र हुँदैन, प्रकृतिले खपिरहेको प्रहार, विश्व वातावरण र सम्भावित विनाशतिर उसको मन सचेत रहनुपर्छ । अबको इको पोएट्री स्वेच्छाको तृप्ति खातिर गरिने कर्म होइन । यो यस पृथ्वी ग्रह रक्षा अभियानमा लाग्ने एक्टिभिष्टजस्तो भएर सामूहिक वाणी प्रकट गर्ने माध्यम पनि हो।’ असमका समालोचक ज्ञानबहादुर छेत्रीको ‘भारतीय नेपाली साहित्यमा पर्या चेतना’ कार्यपत्रलाई आफ्नो शुभकामना मन्तव्यसहित डा. जीवलाल सापकोटाले प्रस्तुत गरेका थिए । भुटानका डा. शिवराज भट्टराईले ‘भुटानको विकास सिद्धान्त र वातावरण संरक्षण’ शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गरे भने नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीले ‘सोसल इकोलोजी एण्ड स्टोरी टेलिङ’ विषयमा आफ्ना प्रस्तुति राखे ।

यस गोष्ठीमै पर्या साहित्यकार विजय हितानले ‘पर्या साहित्य प्रतिष्ठान’को घोषणा गरे । यस प्रतिष्ठानका लागि डा. गोविन्दराज भट्टराईबाट रु. १ लाखको चेक प्राप्त गरेको र आफूले पनि छिट्टै १ लाख रकम थप गरी यस प्रतिष्ठानको कि-मेम्बर बन्ने कुरा बताए । हितानले प्रतिष्ठानमा आबद्ध हुन इच्छुक व्यक्तिहरूलाई कि-मेम्बर बन्नसमेत आह्वान गरे । यस प्रतिष्ठानले पर्या साहित्यका विभिन्न विषयमा कार्यहरू गर्ने कुरा पनि सुनाए ।

यस कार्यक्रममा पर्या साहित्यअन्तर्गत विभिन्न विधाका चार पुस्तकहरू विमोचित भए । डा. गोविन्दराज भट्टराई र विजय हितानद्वारा सम्पादित ‘पर्या साहित्यः सिद्धान्त र सिर्जना’ पुस्तकलाई डा. शिवराज भट्टराईले विमोचन गरे । यस पुस्तकका बारेमा मन्तव्य राख्दै डा. गोविन्दराज भट्टराईले पर्या साहित्यको सिद्धान्तका बारेमा यस पुस्तकले धेरै कुरा समेटेको र अबको विश्वविद्यालीय अध्ययन र अनुसन्धानमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा पनि बताए । त्यसपछि डा. देवेन सापकोटाद्वारा सिर्जित ‘पृथ्वीका सुस्केराहरू’ कथासङ्ग्रहलाई डा. गोविन्दराज भट्टराईले विमोचन गरे । यस पुस्तकको समीक्षा डा. तारानिधि भट्टराईले गरेका थिए भने स्वयम् कथाकार डा. देवेन सापकोटाले पनि आफ्नो मन्तव्य राखेका थिए । कृष्ण बाउसेद्वारा रचित ‘पर्याप्रेमको गुञ्जन’ कवितासङ्ग्रहलाई डा. गोविन्दराज भट्टराई र प्रगति राईले विमोचन गरे । यस सङग्रहकोसमीक्षा अनिता पन्थीले गरिन् भने स्वयम् कवि बाउसेले पनि आफ्नो मन्तव्य राखे । कथाकार विजय हितानको कथासङ्ग्रह ‘ब्लु प्लानेट’को अङ्ग्रेजी संस्करणलाई डा. विष्णुसिंह राई र डा. अञ्जना वस्तीले स‌युक्त रूपमा विमोचन गरे । यस पुस्तककी अनुवादक गाथा रिजाल र स्वयम् कथाकार विजय हितानले आफ्ना मन्तव्यहरू राखे । त्रिभुवन विश्वविद्यालयको एमफिलमा यसै ‘ब्लु प्लानेट’ कथासङग्रहमाथि शोधपत्र तयार पारेका महेन्द्र न्यौपानेले यस सङ्ग्रहका बारेमा आफ्ना अनुसन्धान अनुभवहरू प्रस्तुत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै डा. कृष्णप्रसाद भण्डारीले ‘ऋग्वेदमा पर्या–आध्यात्मिक चेतनाको सार’ शीर्षकमा आफ्नो अध्ययनका तार्किक कुराहरू प्रस्तुत गरे ।

साहित्य पोष्टमा प्रकाशति उत्कृष्ट तीन पर्या कविताका कविहरू क्रमश डा. विप्लव ढकाल (भ्यागुताको बिहे, प्रथम), वासुदेव अधिकारी (हिउँमारा तापमान, दोस्रो) र कृष्ण बाउसे (डाइनोसरको भजन, तेस्रो) लाई क्रमश रु. १५०००, १०००० र ५००० नगदसहित प्रमाणपत्रले पुस्कृत गरियो । उत्कृष्ट चौथो र पाँचौँमा पर्न सफल कविहरू क्रमशः दियसरत्न शाक्य र रमेश भट्टराइलाई पनि प्रमाणपत्रले सम्मान गरियो ।

यस कार्यक्रममा दुई दर्जन जति कविहरूले पर्या कविता वाचन गरे । कविता वाचन गर्ने कविहरू थिए, डा. विप्लव ढकाल, वासुदेव अधिकारी, कृष्ण बाउसे, दियसरत्न शाक्य, प्रज्वल अधिकारी, असीम सागर, डा. देवेन सापकोटा, सीता भण्डारी कणेल, डा. विष्णुसिङ राई, प्रगति राई, भावेश भुमरी, राजबाबु श्रेष्ठ, सुरज पराजुली, रत्न श्रेष्ठ, प्रकाश समीर, मणिराज सिंह, कृष्णबहादुर बिष्ट, बुद्धिमान महर्जन, अनिता न्यौपाने, रूपसिंह भण्डारी, डा. जिवलाल सापकोटा, हरि कोर्काली र विजय हितान ।

सन् २०१६ मा बेलायतको लण्डनदेखि त्यहाँका नेपाली साहित्यिक सङ्गठनहरूको सहकार्यमा सुरु भई नियमित रूपले आयोजना गरिँदै आएको यस गोष्ठीले इको साहित्यउपर चर्चापरिचर्चालाई अगाडि बढाउँदै आएको छ । यसै उद्देश्य परिपूर्तिका लागि हितान केही महिनादेखि नेपालमा बस्दै आएका हुन् र यसपालि यो गोष्ठी नेपालमै आयोजना गरिएको हो । यस गोष्ठीलाई आउँदा वर्षहरूमा अन्य देशहरूमा पनि आयोजना गर्न सकिने भन्दै विजय हितानले आफू कार्यक्रमका लागि बेलायतबाट नेपाल या अन्य देशमा जानका लागि तत्पर रहेको कुरा पनि राखे । उपस्थित सबै अतिथिहरूलाई स्वयम् हितानले नै धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए  ।

यस कार्यक्रमलाई प्रज्वल अधिकारी र विजय हितानले सञ्चालन गरेका थिए । सरगम प्रकाशन र साहित्य पोष्टको सहकार्यमा यस गोष्ठीको आयोजना विश्व नेपाली साहित्य महासङ्घको व्यानरमा गरिएको थियो ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*