विश्वव्यापी गजल प्रतियोगिताका विजयीहरू पुरस्कृत, तीन जना साहित्यकार सम्मानित

२२ मे, इजरायल । विश्व नेपाली साहित्य महासङ्घले आयाेजना गरेको विश्वव्यापी खुल्ला गजल प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । यस्तै, महासङ्घले साहित्य क्षेत्रमा याेगदान दिने तीन जनालाई सम्मानित समेत गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममार्फत् पुरस्कार वितरण एवम् सम्मान अर्पण गरिएको हाे । साेमबार भर्चुअल रूपमा जाेडिएका ६ दर्जन बढी साहित्यकारहरूकाे उपस्थितिमा भएको कार्यक्रम महासङ्घ अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ काे अध्यक्षतामा भएको हाे । सम्मानित हुनेहरूमध्ये विनेसाम साहित्यश्री सम्मानबाट राजकुमार राई (अमेरिका), विनेसाम प्रतिभा सम्मानबाट कमला प्रसाई(हङकङ) र विनेसाम साधना सम्मानबाट डम्बर पहाडी ‘एलाक’ (नेपाल) भएका छन् ।

यसैगरी, विनेसाम केन्द्रीय समितिले आयोजना गरेको विश्वव्यापी खुल्ला गजल प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरिएको छ । प्रतियोगितामा सुमी पोखरेल (उदयपुर) प्रथम, भावना लामिछाने (स्याङ्गजा फेदीखोला, हाल पोखरा) द्वितीय, प्रमोद थापा (दोर्दी-१, लमजुङ्ग) तृतीय र धनसिंह गिरि (घोराही, दाङ) चाैथाे घाेषित भएका थिए । त्यस्तै, सान्त्वनामा आर्य आयुषा (सिन्धुपाल्चोक) र नवराज न्यौपाने ”मौन” (भानु नगरपालिका, वडा न: ५, चुँदी/तनहुँ) रहेका छन् । प्रतियोगिताकाे संयाेजकमा वरिष्ठ गजलकार डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ रहेका थिए । प्रतियोगितामा २२६ गजलहरू प्राप्त भएका थिए । महासङ्घले यसअघि कविता, मुक्तक, लघुकथाका विधाहरूमा प्रतियोगिता गरिसकेको छ ।

विजेताहरूलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार नेपाली रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियोे । विजयी गजलकारहरूले आफ्नाे सिर्जना समेत वाचन गरेका थिए । कार्यक्रमका मुख्य अतिथि कुलपति राईले महासङ्घकाे काम स्तुत्याेग्य भएको बताए । उनले प्रतिष्ठानमा नयाँ टिम आएकोले आफूहरू सबैसँग समन्वय गर्न तयार रहेको जनाए । उनले साहित्यलाई समाजकाे उत्खनन गर्न प्रयोग गर्नुपर्ने जिकिर गरे ।

महासचिव सुनिता राई कन्दङ्वाले सञ्चालन गरेकी कार्यक्रममा सचिव डा. मन भुर्तेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धरावासी, पूर्व राजदूत ज्ञान उदास, प्राज्ञ मुनराज शेर्मा, प्राज्ञ कविता आले, प्रेम ओझा, देवी पन्थी, डा. गाेकुल क्षेत्री, ध्रुव मधुकर्मी लगायत महासङ्घसम्बद्ध साहित्यकारहरूकाे उपस्थिति रहेको थियोे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*