एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा, निर्वाचन समिति गठन


लन्डन । ८ जुन २०२३, एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा हुने भएको छ ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले अनलाइन मतदान गरिने जनाए । उनका अनुसार, आउंदो २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ ।

नयां कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।

घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यसपटक देखि एनआरएनए यूकेको नयां सदस्यता लिन वा नवीकरण गर्न शुल्क लाग्ने छैन् । गत २१ मेमा सम्पन्न संघको विशेष साधारणसभाले सदस्यता शुल्क निशुल्क गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष प्रेम गाहामगरले आगामी १५ जुनदेखि १५ जुलाईसम्म एक महिना नयां सदस्यता दर्ता तथा नवीकरणका लागि खुल्ला गरिने जनाए । अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सकिने संघले जनाएको छ ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले आफ्नोबाहेक अन्य कुनै व्यक्ति वा समूहले गर्न लागेको भनिएको अधिवेशन आधिकारिक नभएको प्रष्ट्याए ।

‘नक्कली भूटानी शरणार्थी कुल आचार्यहरुको बोलवाला रहेको समूहले गर्ने भनिएको अधिवेशन वहिष्कार गर्न म समस्त बेलायतवासी नेपालीसमक्ष अनुरोध गर्दछु’, गाहामगरले भने, ‘रुद्री र व्रतवन्ध छाडेर बेलायतको एकजना पण्डित चिरन्जिवी ढकाल निर्वाचन गराउने भन्दै हिंडेको सुनेको छु । दुई दुई वर्षमा अधिवेशन हुने बेला मात्र आर्थिक लाभ लिन निर्वाचन आयुक्त बन्ने ढकालहरुलाई नेपाली समाजले तिरस्कार गर्न अब ढिला गर्नु हुन्न ।’

बेलायतको नेपाली समाज भांड्न उद्यत कुल आचार्य र रामशरण सिम्खडालाई गाहामगरले उनीहरुविरुद्ध उच्च अदालतमा मुद्दा विचाराधिन रहेको पनि बताए । ‘नक्कली भुटानी शरणार्थी कुल आचार्यको पहलमा टिके सुनिलबाबु खड्काले बेलायेतमा कुनै पनि अधिबेशन गरेर समाज भाड्ने काम गरे। ‘नक्कली भुटानी शरणार्थी कुल आचार्यले बेलायेत सरकारलाई नक्कली कागज पत्र पेस गरि ब्रिटिश सिटिजन लिए वापत अब उनी अधिवेशन होइन जेल जाने पक्का छ’, गाहामगरले चेतावनी दिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*