एक गलत जवाफको मूल्य खर्ब डलर

क्यालिफोर्निया — ‘ह्वाट न्यु डिस्कभरिज फ्रम द जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) क्यान आई टेल माई नाइन–इयर वल्ड अबाउट ?’ अर्थात्, जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मार्फत् कुन नयाँ कुरा पत्ता लाग्यो, जुन मैले ९ वर्षको उमेरका बच्चालाई बताउन सक्छु ?

गुगलले हालै विकास गरेको च्याटबट ‘बार्ड’ लाई सोधिएको प्रश्न हो यो । ओपन एआई कम्पनीको एआई टुल च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्न विकास गरिएको ‘बार्ड’ भने यस प्रश्नको उत्तर दिने क्रममा गलत जानकारी दिएको छ । घुमाउरो शैली सोधिएको प्रश्नको जवाफ बार्डले गलत र अपुरो जानकारी उल्लेख गरेको छ ।

‘जेडब्लूएसटीले नै सबैभन्दा पहिलो सौर्य प्रणाली बाहिरको फोटो खिचेको हो,’ बार्डले जवाफ दिने क्रममा उल्लेख गरको छ । तर सौर्य प्रणाली बाहिरको तस्बिर भने पहिलोपटक युरोपियन साउदर्न अब्जर्बेटरीको भेरी लार्ज टेलिस्कोप (भीएलटी) ले खिचेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उक्त तस्बिर सन् २००४ मा खिचिएको थियो । युट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा ‘बार्ड’ ले गलत जवाफ दिएको विषयमा सबैभन्दा पहिले समाचार संस्था रोयटर्सले समाचारमा उल्लेख गरेको हो ।

ओपन एआई कम्पनीको एआई टुल च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्न केहि दिन अघिदेखि परीक्षणमा ल्याएको च्याटबट ‘बार्ड’ को उत्तरका कारण गुगलले ठूलो घाटा व्यहोरेको छ ।

‘बार्ड’ को गलत जवाफका कारण कम्पनीको सेयरमूल्यमा एकै दिनमा एकसय अर्ब डलरको गिरावट आएको हो । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सर्च इभेन्टमा ‘बार्ड’ ले गलत जवाफ दिएका कारण एक दिनमै अल्फाबेट कम्पनीको सेयरमा ९ प्रतिशतले गिरावट आएको हो । उक्त गिरावटका कारण गुगलको माउ कम्पनी अल्फाबेटले एकसय अर्ब अमेरिकी डलर गुमाएको बीबीसीले उल्लेख गरेको छ । प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा सोधिएको प्रश्नको जवाफ नै गलत दिएपछि नयाँ च्याटबटबारे आलोचना समेत सुरु भएको छ ।

अल्फाबेटले ‘बार्ड’ को प्रवर्द्धनका लागि सामाजिक सञ्जाल ट्वीटर राखेको भिडियोमा उक्त च्याटबटले जटिल प्रश्नहरूको जवाफ सही र निकै सरल रूपमा दिने दाबी गरेको थियो । तर त्यसको केहीबेरमै सोधिएको प्रश्नको जवाफ भने बार्डले गलत दिएको हो । गुगलका प्रवक्ताले भने ‘बार्ड’ परीक्षणकै क्रममा रहेकाले यसले गलत जवाफ दिएको स्वीकार गरेका छन् । उनले सर्वसाधारणका लागि सार्वजनिक गरिनुअघि सबै कमजोरी हटाइसकिने उनको दाबी छ । ‘हामीले आन्तरिक परीक्षणसँगै बाह्य प्रतिक्रिया समावेश गरेर बार्डको जवाफ दिने क्षमतालाई थप गुणस्तरीय र सुरक्षित पार्नुका साथै वास्तविक सूचना दिनसक्ने बताउने छौं,’ प्रवक्ताले भनेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) लाई विकास गर्न सन् २०१५ मा स्थापित संस्था ओपन एआईले नोभेम्बर ३० मा ‘च्याट जीपीटी’ सार्वजनिक गरेको थियो । एआई मोडलमा आधारित ‘च्याट जीपीटी’ ले प्रयोगकर्ताले सोधेका जुनसुकै विषयमा प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिने गर्छ । जसका कारण पछिल्लो समय यो निकै लोकप्रिय हुँदै गइरहेको छ ।

यसअघि सर्च इन्जिनमार्फत प्रश्नको जवाफ खोज्दा सम्बन्धित क्षेत्रका वेबसाइटका लिंक दिने गरेकोमा ‘च्याट जीपीटी’ भने खोजेको जस्तो उत्तर दिने गर्छ । यसको प्रयोगले कुनै पनि विषयमा सटिक जवाफ पाइने मात्र होइन, प्रतिवेदन लेखनलगायतका काम पनि सहज रूपमा गर्न सकिन्छ । लोकप्रियता बढेसँगै माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन ‘बिङ’ मा च्याट जीपीटी समावेश गरिसकेको छ । जसका कारण गुगलले पनि आफ्नो सर्च इन्जिनमा समावेश गर्ने भन्दै ‘बार्ड’ विकास गरेको हो । पछिल्लो समय लोकप्रियता बढेसँगै च्याट जीपीटीले गुगललगायतका सर्च इन्जिनलाई नै विस्थापित गर्न सक्ने आकलन गर्न थालिएपछि गुगलले ‘बार्ड’ ल्याएको हो ।

‘लाम्डा’ प्रविधिमा तयार गरिएको ‘बार्ड’ पनि च्याट जीपीटीजस्तै एआईमा आधारित छ  र यसले पनि च्याट जीपीटीकै शैलीमा उत्तर दिने बताइएको थियो । त्यसका साथै, हालसालै भएका घटना तथा त्यससम्बन्धी विवरणसमेत उपलब्ध गराउने भएकाले प्रयोगकर्ताका लागि च्याट जीपीटीभन्दा बार्ड प्रभावकारी हुने गुगलको दाबी थियो । तर पछिल्लो घटनासँगै यसको प्रभावकारिताबारे भने प्रश्न चिह्न खडा भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*