संस्कृतको थुप्रोबाट –मिनबहादुर राना

एक माननीयले संसदमा बोल्ने क्रममा सल्यक्रिया भन्ने शब्द पढ्न जानेन् । उहाँ शिक्षित माननीय हो । सामाजिक सञ्जालमा उहाँको खेदो खनियो । मैले त्यो सामान्य कुरा हो जनजातिलाई संस्कृत शब्द उच्चारण गर्न गारो हुन्छ भनेर कमेन्ट गरेको केही महामानवहरूले सल्यक्रिया संस्कृत शब्द होइन भनेर तर्क गर्नुभयो । संस्कृतका सबै शब्दलाई नेपाली देख्ने विद्वान महोदयसित विवाद गर्नुको कुनै तुक होला र ?

म नेपालीको विद्यार्थी हुँ । अस्पतालमा प्रयोग हुने धेरै शब्द बुझ्दिनँ । बहिरंग, सघन, सल्यक्रिया, कक्ष, सेवा, चिकित्सक जस्ता शब्द अहिले पनि राम्ररी बुझेको छैन । आकस्मिक शब्दसित भने अलिकता परिचित छु भन्न सक्छु । हामो अस्पतालमा सामान्य मान्छेले सजिलै बुझ्ने शब्द प्रयोग गर्दा के समस्या हुन्छ होला ?

उच्च शिक्षा सुरु हुने बित्तिकै फम भर्दा विज्ञान शङ्काय, समाज शास्त्र शङ्काय, शिक्षा शास्त्र शङ्काय, मानविकी शङ्काय आदि इत्यादि । हैट कति गरुङ्गा शब्द ? अब त अल्लि हलुङ्गा शब्द प्रयोग गरे पनि हुने नि । के होला यी पुछारमा आएका शङ्काय शब्दको अर्थ ? अहिले पनि सोचिरहन्छु तर अर्थ भेटेको छैन ।

केही विद्वानहरू जसले स्वर्ग छैन भन्नुहुन्छ । कसैको मृत्यु भयो भने सबैभन्दा पहिला मृतकको नाम अगाडि स्व. थप्नेमा उहाँ नै पर्नुहुन्छ ।

म भने अलिकता अलमलमा हुन्छु । मरेजति सबै स्वर्ग नै गएका हुन त ? कोही नर्क गएको थाहा पाउन पाए त उनको अगाडि न. थपिदिन हुन्थ्यो । कवि, सहिद, विचारक अथवा आविस्कारकको जीवनी पढ्दै गर्दा यिनीहरू स्वर्ग नपुगेका रहेछन् भन्ने सोच्थेँ म । किन भने उनीहरूको नाम अगाडि स्व हुँदैनथ्यो । कसको नाम अगाडि स्व. थप्ने कसको अगाडि स्व. नथप्ने भन्ने पनि हुने रहेछ ।

संस्कृतका सबै शब्द टर्रा लाग्ने गरि आएका छैनन् । केही शब्द भने सारै गहिरा र मिठा लाग्छन् । जस्तै समवेदना, श्रद्धञ्जली, दिवस, मिष्ठभाषी, तृष्णा, वाण । सबैले यसको अर्थ बुझ्छन् जस्तो भने लाग्दैन । न बुझेरै त होला । एक जनालाई समवेदना शब्द मिठो लागे छ । बधाई दिने बेलामा मिठो शब्द प्रयोग गर्न मन लागेर समवेदना दिएछन् ।

बच्चालाई गणित र विज्ञान सिक्न किन गारो हुन्छ ? त्यो पनि संस्कृतकै थेलमथेलको समस्या छ । व्युत्क्रमानुपातिक, समानुपातिक, बिज, धन, षट्, सम, कोण, पुनरावृति, रीत, ऋणात्मक, जिवाणु, जस्ता शब्दको ठाममा सरल नेपाली शब्दको प्रयोग गर्न सके बच्चालाई सम्झन र बुझ्न कति सजिलो हुने थियो होला ?

हुँदा हुँदा बच्चाको नेपाली समेत राम्रो भएन भन्ने गुनासो व्यप्त छ । पर्यायबाची, विपरीतार्थक, श्रुतिसम भिन्नार्थक, लिङ्ग, वचन, पुरुष, वाच्य यस्ता अनेकौँ संस्कृत शब्द पेलापेल छन् । यी शब्दहरू याद गर्न नै बच्चालाई धौमर्नु हुन्छ । अझ महत्वपुर्ण ठाममा शब्द झन खाँदिएर आउँछ । शब्दादीमा र शब्दमध्यमा ह्रश्व लेख्ने । कता होला शब्दादी र शब्दमध्यमा भनेर खोज्न थाल्छ बच्चा । हरेक शब्दको सुरुको अक्षर र बिचको शब्द ह्रश्व लेख्नु भन्न मिल्दैन होला र ? मिल्छ भने किन यसरी लात्ताले खाँदेका शब्द प्रयोग गर्नु त ? अनि बच्चाले कसरी व्याकरण बुझ्छ ? कता ह्रश्व दीर्घ कता दाइना वाइमात्र ? बच्चा अलमल ।

लिङ्ग, वचन पुरुष भन्दै गर्दा बच्चा भित्र भित्र खितित्त हाँसेको पनि नसुनेको होइन । म छुचो मान्छे हेर है बाबु तिम्ले सोँचेको लिङ्गको कुरा यो होइन । व्याकरणको कुरा हो । भनी हालेँ बच्चाहरू अझ हाँसे, एकछिन रमाइलो नै भयो । व्याकरणमा भएका यस्ता शब्दलाई हामीले सामान्य शब्दमा किन नभन्ने ?

उच्चारणको कुरा झन जटिल छ । प्राय: हामी टठडढ र तथदध को उच्चारणमा जान्छौँ । केही जनजिब्रोले अकारलाई पनि आकार उच्चारण गर्दछन् । इ र ई छुट्टाछुट्टै उच्चारण हुन्छ प्राय हामी जनजाति समुदायकाले त्यसको ख्याल गर्दैनौ र हाम्रो जनजाति जिब्रोले उच्चारण गर्न पनि सक्दैन । अनि मातृभाषा अङ्ग्रेजी हुनेले भ, भभ र ष् को छुट्टाछुट्टै उच्चारण गर्छन् । हामीलाई कुनै कुनै शब्द उच्चारण गर्न र उच्चारण गरेको बुझ्न गारो हुन्छ । कुनै एक ठाममा स्पिकरबाट अङ्ग्रेजी शब्द सिल्भर उच्चारण गरेको थियो । एक जना दाइले फरक सुन्नुहुँदो रहेछ । मैले यही उच्चारणबारे कुरा गर्न खोजेको ती दाजु मसित अति रिसाए । सबै तैँले जानेको छस् । तँ भएपछि अरु केही चाहिन्न भयो पुग्यो । भन्दै फन्किनुभयो ।

बिचरा दाजुलाई हामीमा भएको उच्चारणगत परम्परा र बाहिरी भाषामा भएको उच्चारण व्यवस्थाबारे थाहा थिएन र उनले कुरा सुन्नसम्म सकेनन् । नेपाली पढाउँदा पनि शिक्षकले विद्यार्थीको समस्या पत्ता लगाउन सजिलो छ तर सिकाउन अति गाहो छ ।ठुलै मान्छेसित त यहाँ दोस्ती तोडिने अवस्था आयो भने बच्चालाई ? उच्चारण सिकाउन धेरै गाहो छ ।

मास्टर भएँ भन्दैमा हेप्ने ? आफुले जन्मेदेखि बोल्दै आएको भाषा जान्दैन भन्छ ? हामीलाई त बोल्नै जनान्ने पो ठान्छ ? भनेर उल्टो शिक्षकसित टाढिने समस्या आउँछ । ह्रश्व र दीर्घको समान उच्चारणले भाषिक विनिमयमा खास्सै गलत प्रभाव पारेको छैन । तथदध र टठडढको समान उच्चारण गरे पनि उनीहरूको समुदायमा भाषिक विनिमय चलेकै छ । भाषिक विनिमयको खर्च नचलेको अवस्थामा नै शब्द सापत्ति लिने हो । शब्द सापत्ति लिनै परेको छैन भने किन भाषिक गरिब ठानेर होच्याउने त ? त्यसको सजिलो उपाय भनेको हामी जनजातिहरूले गर्ने उच्चारणलाई मान्यता दिनुपर्छ ।

मानौ कसैले आफू जस्तो बोल्छ उस्तै लेख्यो भने पनि त्यसलाई गलत मानेर ठुलै अपराध गरेको जस्तो गराउनु वा घृणा गर्नु रामो होइन ।

नेपाली भाषाको लेख्य परम्परा संस्कृतको धेरै ठुलो ऋणी छ । व्याकरणको नियम पनि धेरैजसो संस्कृतकै ऋण हो । तर त्यो ऋण चुकाउने नाममा सामान्यिकरण गर्दै नजानु र अझ पनि संस्कृत शब्दको जस्ताको तस्तै प्रयोग गर्नुले हामोे व्याकरण समेत नयाँ पुस्ताले बुझ्न नसक्ने भएको छ । केही लेखकहरूमा अहिले पनि अटसमटस संस्कृत शब्द थुपार्ने र नेपाली शब्दलाई संस्कृत व्याकरणमा जस्तै बटारेर जोडेर प्रयोग गर्नुलाई साहित्यको नाम दिन भ्याउँछन् ।

हुन त अचेल अङ्ग्रेजीले पनि कम्ता पेलेको छैन । एस्.एल.सी. दिने बेलामा स्टोभमा खाना पकाएर खान्थ्यौँ । स्टोभ रहेछ हामी त स्टोप भन्थ्यौँ । एक दिन हामो स्टोभ बिग्रियो । कहाँ बनाउन जाने ? ठुलै समस्या पर्याे । तीन जना साथीले मेरै मुख हेरे । म परेँ जान्ने सुन्ने मान्छे । स्टोप लिएर हामी सरासर मेरी स्टोप्स सेन्टरमा छिरियो । यसो हेरेको त रामो सिस्टरहरू मात्र देखिन्छन् । तै पनि समस्या त राखिछोडियो । उनीहरूले हाँस्दै स्टोभ बनाउने मिस्त्रीको छातावाला पसल देखाए । पछि मेरी स्टोप्सको अर्थ थाहा पाएपछि सुनिल पौडेल जिक्री र म बहुत हाँस्यौँ ।

अचेल कतै कतै सार्वजनिक स्थानमा अङ्ग्रेजीमा बोर्ड राखेको पनि दखिन्छ । त्यसबाट सर्वसाधारणमाथि परेको असरबारे ती अङ्ग्रेजी पुतला कत्तिको सजग होलान् ?

पुर्वेली कविहरूले कवितामा आफ्ना भाषाका शब्द समावेश गर्छन् । सुरुसुरुमा नबुझिए पनि बिस्तारै ती कविता रामो लागे । सुदुर पश्चिमका पहाडतिरका भाषाका गीत सुनेर मजा लिन सकिन्छ । सु.प.को बोली बुझ्न कठिन हुन्छ । भाषाको प्रयोक्ता अझै अस्तित्वमा रहेकाले बिस्तारै बुझिने रहेछ । उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ । संस्कृत भाषाको प्रयोक्ता नहुनाले त्यसलाई यान्त्रिक भाषा सरह बुझ्नुपर्ने हुन्छ ।

भाषिक काम गर्दा कुनै ठाममा शब्द अभाव हुँदा सिधै संस्कृत वा अङ्ग्रेजीबाट शब्द ल्याउन सक्नेले स्थानीय भाषा किन देख्दैनन् ? अचम्म यही छ । हिन्दीबाट कुनै शब्द आयो भने फेरि तोरीको गन्ध आउँछ । जे होस घुमाइफिराई संस्कृतकै ढङढङी बढी देखिन्छ ।

हामी संस्कृतबाट अति नै थिचिएका छौँ । या त हामीले विरोध मात्र गरेर बस्यौँ । या त संस्कृत नेपाली भाषाको मुल हो भनेर संकृत शब्द पेलापेल ठोसेर वाक्य निर्माण गर्नुलाई साहित्यिकको उपमा दिएर बस्यौँ ।

नेपालमा बोलिने अन्य भाषाबाट कुनै शब्द आयो भने पचाउन गारो मान्छौँ । नेपालीमा धेरै शब्द अपुरो छ । ती शब्द संस्कृतमा पनि रहेन छ तर नेपालमा बोलिने अन्य जातीय भाषामा प्रचलनमा छन् । नेवारी, तामाङ, मगर, भोजपुरी आदि भाषा पनि बृहत शब्द भण्डार भएका भाषा हुन् । ती जातीय भाषाबाट केही शब्द नेपालीमा ल्याउँदा नेपाली भाषा अझ रसिलो बन्थ्यो तर संस्कृतको ढोङले हाम्रै राष्ट्र भाषा(जातीय भाषा)बाट शब्द ल्याउन प्रतिबन्धित जस्तै छ । ती जातीय भाषाबाट आएका शब्दलाई खै के के नाम दिएर पठनपाठनमा स्थान दिने गरिन्न ।

कुनै संस्कृतप्रति मोह भएका विद्वान मित्रले अझ पनि संस्कृतको महत्व बुझेको छैन रैछ । म त्यति अबुझ पनि होइन । संस्कृतप्रति पुर्वाग्रह पनि छैन । कनकन गरेर मात्रा नमिले पनि, मेरै उच्चारण शैलीमा भएपनि संस्कृतमा श्लोक भट्याउन मन लाग्छ। भट्याउँछु पनि । मात्र कुरा के हो भने अब पनि नेपाली भाषा परनिर्भर नै हुने हो र ? हिन्दी र संस्कृतबाट केही फरक बनाउन पनि भाषाको सामान्यिकरण जरुरी छ । हामीले गुगलमा अनुवाद गर्दा हिन्दी पनि भन्न भ्याउँछ कुनै बेला । त्यसबाट फरक कसरी बनाउने भन्नेबारे सोचुम कि ?

लेख्दा हुने भाषिक गल्ती सच्याउन सकिने गल्ती हो । अझ संस्कृतमा त झन् यस्तो हुन्छ भनेर संस्कृतको थुप्रो लगाउनु मुर्खता हो । संस्कृत संस्कृत हो । नेपाली नेपाली हो । कुनै पनि भाषाको विनिमयमा खाँचो पर्दा अन्य भाषाबाट सापत्ति चलाउनु सामान्य हो । मेसो मिल्ने बित्तिकै संस्कृतको थुप्रो लगाउने बानीमा कमि गर्नुपर्छ । कसैले लेख्दा बोल्दा गरेको गल्तीलाई अक्षम्य गल्ती बनाइनु हुँदैन । यसैलाई आधार बनाएर मान्छेलाई होच्याउनु, हेप्नु र सभ्य असभ्यको उपमा दिनु अक्षम्य हुन्छ । भए गरेका भाषिक गल्तीमा मैत्रीपुर्ण छलफल भने गर्नुपर्छ । छलफल र वहसबाट मान्छे धेरै कुरा सिक्छ । मानक भाषा सिक्न भने छोड्नु हुँदैन । सिकेर कहिल्यै सकिन्न ।

–प्लम्स्टिड लण्डन

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*